काठमाडौं- सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ।
कम्पनीले भदौ ३० गते आइपीओ बिक्री खुला गरेको यस आईपीओमा आज असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले आईपीओमा असोज ५ गतेसम्म आवेदन दिने समय थपिएको हो।
यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भनेकोमा जेनजी आन्दोलनका कारण निष्कासन प्रक्रिया स्थगन गरेको थियो । कम्पनीले स्थिति सामान्य भएपछि भदौ ३० गतेबाट मात्र आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरि ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ।
कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको छ।
यो आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डका अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया