काठमाडौँ–नेपाल सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई राजस्व व्यवस्थापन सूचना प्रणालीसँग जोडेर विदेशमा रहेका नेपाली र नेपाल आउने पर्यटकलाई राजस्व तिर्न सहज बनाएको छ । महालेखा नियन्त्रक कार्यालयले यो प्रणालीलाई एकीकृत गरेपछि अब भिसा, मास्टरकार्ड र अलिपेजस्ता कार्डहरू प्रयोग गरी राजस्व तिर्न सकिने भएको हो ।
अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा यो सेवाको शुभारम्भ गरेपछि यसले भुक्तानी प्रक्रियालाई थप सहज बनाएको हो । यो प्रणालीले सेवा प्रवाहलाई कागजरहित, व्यक्तिरहित र नगदरहित बनाउनुका साथै चौबीसै घण्टा सेवा उपलब्ध हुने सुनिश्चित गरेको छ ।
प्रारम्भिक चरणमा यो सेवा अध्यागमन विभागमा सुरु गरिएको छ । यसले गर्दा मानिसहरूले भिसा शुल्क तिर्न र नेपाल आउने पर्यटकले त्रिभुवन विमानस्थल लगायतका अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सहजता पाउनेछन् ।
यो कदमले राजस्व सङ्कलनलाई छिटो, पारदर्शी र अन्तर्राष्ट्रिय पहुँचयुक्त बनाउनुका साथै देशमा डिजिटल अर्थतन्त्रलाई बढवा दिन सहयोग पुग्ने छ ।
प्रतिक्रिया