काठमाडौं- शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा अब असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको छ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद सेयर निष्कासन गरी संकलन भएको रकम कम्पनीले बैंकहरुको ऋण भुक्तानीका लागि प्रयोग गर्नेछ।
प्रतिक्रिया