माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउने सहमति

सोमबार, २७ असोज २०८२, १० : ५२

काठमाडौं- विगत एक महिनादेखि बन्द अवस्थामा रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउने सहमति भएको छ ।

१० प्रतिशत सेयर निःशुल्क दिनुपर्ने माग राख्दै केही जेनजी युवाहरुले आयोजना सञ्चालन बन्द गराएका थिए ।

आइतबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, आयोजना पक्ष र जेनजी प्रतिनिधिसहितको बैठकले आजबाटै आयोजना सञ्चालन गर्ने सहमति गरेका हुन् । प्रथम पक्ष भोटेकोशी जेनजी पव्लिक इन्भेष्टमेन्ट पव्लिक लिमिटेड र दोस्रो पक्ष भोटेकोशी पावर कम्पनी लिमिटेडबीच सहमति भएको हो ।

जसअनुसार, दोस्रो पक्षले १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेडलाई दिइनेछ । 

त्यस्तै, दोस्रो पक्षको सेयर अंकित मूल्य रु १०० को सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले सेयरका लागि कर्जाका लागि बैंकमा निवेदन दिने, दोस्रो पक्ष जमानीको व्यवस्था गर्ने, सो कर्जा आगामी एक वर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधैं सञ्चालन भएको अवस्थामा कर्जा र ब्याजसमेत चुक्ता हुने गरी दोस्रो पक्षले व्यवस्था गर्ने सहमति भएको छ ।

यसैगरी १० प्रतिशत सेयरका लागि जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका आयोजना प्रभावित जनतालाई पहिलो पक्षको कम्पनीको सेयरधनी बनाइसकेपछि दोस्रो पक्षले १० प्रतिशत सेयरका लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने पनि सहमति भएको हो ।

 
सोमबार, २७ असोज २०८२, १० : ५२

प्रतिक्रिया