पदत्यागको प्रशंसा गर्दै माओवादी युवा नेता तामाङले उठाए मोहन वैद्यको वैचारिक अवधारणामाथि प्रश्न

मंगलबार, ०४ कार्तिक २०८२, १५ : ११

काठमाडौं– नेकपा(माओवादी केन्द्र)का युवा नेता रजमान तामाङले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको राजीनामाबारे टिप्पणी गर्दै उनको वैचारिक अवधारणामाथि प्रश्न उठाएका छन् । माओवादी जनयुद्धका शीर्ष नेता समेत रहेका किरणले स्वास्थ्य अवस्थामा समस्या देखाउँदै केही दिन अघि पार्टी महासचिवबाट राजीनामा दिएका थिए ।

उनको राजीनामाबारे माओवादी युवा नेता तामाङले किरणको वैचारिक अवधारणाबारे पनि चर्चा गर्न आवश्यक रहेको जनाउँदै नेतृत्वको केन्द्रीकरणको नाममा उनले खेलेको भूमिकाले माओवादी आन्दोलन भड्खालोमा गएको बताएका हुन् ।

तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड किरणका केही खराब बैचारिक अवधारणाहरुबारे पनि चर्चा आबश्यक छ।नेतृत्व केन्द्रीकरणको नाममा ब्यक्तिपुजाबाद, ब्यक्तिमा पार्टीको प्राधिकार र सर्बसत्ताबादलाई दार्शनिकिकरण गर्ने उहाँको वैचारिक खोटले नेपालको माओवादी आन्दोलन भड्खालोमा गएको कुरा सत्य हो।तपाईंको दार्शनिक डायरीमा लोकतन्त्र र जनबाद छैन।त्यही आन्तरिक लोकतन्त्र तपाईंको भाषामा जनाबादको अभावमा कम्युनिस्ट आन्दोलन इतिहास बन्दै छ।’

साथै उनले किरण सादगी र इमानदार नेता भएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन् , ‘कमरेड किरणले स्वास्थ्य स्थितिले साथ नदिएपछि गरेको पद त्यागको अहिले बृहत् चर्चा चलिरहेको छ।खैर ! यो राम्रो गर्नु भयो।कमरेड किरण एक सादगी जिन्दगी जिइरहनु भएका ईमानदार नेता हुन् त्यसमा दुई मत छैन।’


 
 

 
 
 
मंगलबार, ०४ कार्तिक २०८२, १५ : ११

प्रतिक्रिया