एसवाई प्यानलले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

मंगलबार, ११ कार्तिक २०८२, १० : ३४

काठमाडौं- एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुनेछ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 
 
मंगलबार, ११ कार्तिक २०८२, १० : ३४

प्रतिक्रिया