काठमाडौं- गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ।
बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित बिरौटामा रहेको होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित छ।
सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम हाल कायम चुक्तापुँजीको ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने भने आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्तापुँजीको ६ प्रतिशतबराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्नेछ भने बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था गाभ्ने तथा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गराउने तथा गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने वा प्राप्ति गर्नेसम्बन्धी कार्यको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रक्रिया अवलम्बन गरी गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीको संशोधनसँग सम्बन्धित कार्यहरु स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै विषय, शर्तहरु लगायतका संशोधन र फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया