नेप्सेमा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन

विहीबार, २० कार्तिक २०८२, १० : ०९

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गरिएको छ।

नेप्सेले गत आर्थिक वर्ष २०८१/८२ को बोनस सेयरका लागि हिमालयन डिष्टलरीको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार १५१.६७ रुपैयाँ कायम गरेको हो। हिजो बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ हिजो कात्तिक १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

गत आर्थिक वर्षका लागि कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

कम्पनीले यही कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा पर्साको वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

 
 
विहीबार, २० कार्तिक २०८२, १० : ०९

प्रतिक्रिया