काठमाडौं- सिटी होटल लिमिटेडले लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको अवतरित हकप्रद सेयरमा आज कात्तिक २३ गतेदेखि बोलपत्र पेस गर्न सकिनेछ।
होटलले साउन २६ गतेसम्म कायम सेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवतरित सेयर लिलाममा राखेको हो।
होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फको (लकइनमा नरहेको) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारीतर्फको (लकइनमा रहेको) ६ हजार कित्ता गरी कुल २१ लाख ५० हजार ४१८ कित्ता अवतरित हकप्रद सेयर लिलाममा राखेको हो। लकइन अवधि आउँदो जेठ ४ गते समाप्त हुनेछ।
होटलले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा राखेको हो भने बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यस्तो बोलपत्र यही कात्तिक ३० गतेभित्र पेस गरिसक्नु पर्नेछ।
बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै प्रभु बैंकको विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ। यसमा होटलका संस्थापक सेयर धनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेस गर्न सक्नेछन्।
प्रतिक्रिया