काठमाडौं- आज मंसिर ११ गते विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
आज शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले भोलि मंसिर १२ गते बुक क्लोज गर्दैछन् भने कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कृषि विकास बैंकले मंसिर २९ गते, सोमबार, आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा १९ औं वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मंसिर २६ गते, शुक्रबार, होटल सेफ्रन सि.के. प्रा.लि. बुटवल, रुपन्देहीमा १७ औं वार्षिक साधारण सभा डाकेको छ। सो सभा अपरान्ह साढे १२ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
ङादी ग्रुप पावरले भने मंसिर २५ गते, बिहीबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा १२ औं वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सर्वोत्तम सिमेन्टले मंसिर २६ गते, शुक्रबार, होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २३ गते, मंगलबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
यस्तै, बरुण हाइड्रोपावरले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा २२ औं वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया