सप्तकोशी सिमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

विहीबार, ११ मंसिर २०८२, १६ : २३

काठमाडौं- “पूर्वको गौरव”का रूपमा चिनिने सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।

यस सम्बन्धी औपचारिक सम्झौता २०८२ मंसिर १० गते काठमाडौं, त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको थियो। सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लिमिटेडका अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रतिसेयर रु १०० अंकित दरका चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ।

सप्तकोशी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादक कम्पनी हो। यसको दैनिक उत्पादन क्षमता ६०० टन छ। कम्पनीले नेपाल गुणस्तरका मापदण्डअनुसार पीपीसी ४३ ग्रेड तथा ओपीसी ५३ ग्रेड सिमेन्ट उत्पादन गर्दै आएको छ। सन् २०१९ देखि निरन्तर सञ्चालन नाफा कायम राख्दै आएको कम्पनी अहिले देशकै अग्रणी सिमेन्ट ब्रान्डहरूमध्ये पर्दछ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगट्दै आएको कम्पनीले क्षेत्रीय प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट प्रदर्शन गरिरहेको बताइएको छ। आर्थिक वर्ष २०८१र८२ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री लक्ष्य हासिल गरेको छ। सोही वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर पनि वितरण गरिएको कम्पनीले जनाएको छ।

प्रस्तावित आईपीओबाट जुट्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापनाका साथै हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तारमा उपयोग गरिनेछ। यसले कम्पनीको उत्पादन क्षमता, लागत प्रभावकारिता र दीर्घकालीन प्रतिस्पर्धात्मकता थप मजबुत हुने अपेक्षा गरिएको छ।

 
विहीबार, ११ मंसिर २०८२, १६ : २३

प्रतिक्रिया