बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

शुक्रबार, १२ मंसिर २०८२, १३ : ३२

कैलाली– धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन् । लामो समयदेखि उनले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आएका हुन् । 

चौधरीले आफ्नो उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आएका हुन् । उद्योग सञ्चालनमा उनलाई परिवारका सबै सदस्यले साथ दिएका छन् । बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादिक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताए । 

“श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छौं ।  परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग हो, अन्य कुनै पनि घरखर्च चलाउने बाटो छैन्” उनले भने, “सोही व्यवसायले परिवारको पूरै खर्च धान्दै आएको र केही बचत पनि हुने गरेको छ ।”

सुरुमा व्यवसाय सुुरु गर्दा आर्थिकस्थित एकदमै कमजोर थियो । घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचतसमेत हुन थालेको चौधरीले बताए । 

सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ । “अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ”, उनले भने, “अहिले ग्राहकको माग अनुसार सामग्री पु¥याउन सकिरहेका छैनौँ ।”

व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका छन् ।  हेङुगर रु एक हजार ६००, फूलदानी ४५०, कुर्ची तीन हजार, बस्ने पिर्का रु ३५० देखी रु ४००, झूला रु दुई हजार ५०० मा बिक्री गर्दै आएको उनले जानकारी दिए । 

मासिक रूपमा रु ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताए । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आवद्ध भएको भनाइ छ ।


 

 
शुक्रबार, १२ मंसिर २०८२, १३ : ३२

प्रतिक्रिया