पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक

शुक्रबार, १२ मंसिर २०८२, १६ : २८

काठमाडौं- पत्रकार तथा लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित लोकार्पण समारोहबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन्। 

कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले पुस्तकलाई ‘युद्धको ऐना’का रूपमा चित्रण गरे। 

अध्यक्ष दाहालले भने,“पत्रकारिता आफँै कठिन काम हो । युद्धको बेलामा पत्रकारिता गर्ने भन्ने कुरा त झनै फलामको चिउरा चपाउनु नै थियो । सबै हिसाबले यो किताब युद्धको ऐतिहासिक दस्ताबेज बनेको छ ।”    

उनले उक्त पुस्तकमाथि टिप्पणी राख्ने क्रममा जनयुद्धकालमा जाजरकोटमा बिताएको तीन वर्ष स्मरण गर्दै पुस्तकले त्यही कालखण्डलाई जीवन्तता दिएको बताए । 

“हामीले दिल्लीबाट ‘नेपाल आवाज’ पत्रिका निकाल्थ्यौँ । जाजरकोटका विकट पहाडमा रेडियो गणतन्त्रको एन्टेना २५–३० मिटर रूख चढेर राख्थ्यौँ”, अध्यक्ष दाहालले स्मरण गने, “लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोल, त्यसको रिजल्ट युद्ध हो भनिन्थ्यो । त्यसैको जगमा गणतन्त्र आयो भन्दा मलाई गर्व लाग्छ ।” 

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पुस्तक इतिहासको साक्षी भएको बताए । उनले भने, “युद्धमा कलम समात्ने पत्रकारले भोगेका जोखिम, चुनौती र सफलतालाई लेखकले दस्ताबेज बनाउनुभएको छ । यो इतिहासको दस्ताबेजीकरण हो  ।”

प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले पुस्तकलाई नेपालको ऐतिहासिक कालखण्डको महत्त्वपूर्ण कृतिका रूपमा टिप्पणी गरे । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिनुभएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए । 

पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकहरूले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक संघर्ष र जनयुद्धका गतिविधिहरूको दस्तावेज पुस्तकले समेटेको छ । 
 

 
शुक्रबार, १२ मंसिर २०८२, १६ : २८

प्रतिक्रिया