काठमाडौं- नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)मा समाहित नहुने निर्णय गर्दै पर्सा जिल्लाका ७ पूर्वमाओवादी नेताले पार्टी छाडेका छन् । माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको एकीकृत समाजवादी लगायत अन्य ससाना वाम घटकसँग एकता गरेपछि त्यसमा सहभागी नभएर देशव्यापी नेता कार्यकर्ताहरुले पार्टी छाड्ने क्रम बढिहरको छ ।
यसै क्रममा पर्सा जिल्लामा रहेका विघटित माओवादी केन्द्रका नेताहरुले एकतामा सामेल नहुने निर्णय गर्दै पार्टी छाड्ने घोषणा गरेका हुन् । साथै, पार्टी परित्याग गरेका सातै जना नेताले प्रगतिशील लोकतान्त्रि पार्टी(प्रलोपा)मा समाहित हुने समेत संयुक्त विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, माओवादी केन्द्र पर्सा क्षेत्र नं २ इन्चार्ज अभिताब बच्चन दास,नेता सन्तोषराज घिमिरे, पर्साको क्षेत्र नं.२ का संयोजक सुनिल रौनियार, कालिकामाई गाउँपालिकाका नेता दिेनेश प्रसाद यादव, स्थानीय नेता फनिन्द्र प्रसाद गुप्ता र अखिल क्रान्तिकारीको केन्द्रीय लेखा आयोग उपाध्यक्ष गायत्री सिंह रहेका छन् ।
उनीहरुले नवगठित नेकपाले कम्युनिष्ट चरित्र र शैली परित्याग गरेको बताउँदै जनस्तरबाट तिरस्कृत नेताहरुको जमघट गराई पुनः भ्रम छर्ने कार्य गरेकाले एकतामा समाहित नहुने निर्णय गरेको बताएका छन् ।

प्रतिक्रिया