रिलायन्स स्पिनिङ मिल्सले सोमबारदेखि पहिलो चरणको आईपीओ जारी गर्ने

आइतबार, २१ मंसिर २०८२, १२ : ०६

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सले भोलि मंसिर २२ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गर्न लागेको हो। कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिसेयर मूल्य भने ८२०.८० रुपैयाँ रहेको छ। यस हिसाबले लगानीकर्ताले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ।

गत वर्ष माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिसेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। जसअनुसार माथिल्लो रेन्जमा नै कटअफ प्राइस तय भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

आइतबार, २१ मंसिर २०८२, १२ : ०६

प्रतिक्रिया