काठमाडौं- खजुरीको नेपाल प्रालिले आफ्ना पफ उत्पादनलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आर्थिक वर्ष २०८२/८३ का पत्र (च.नं. ४१ र ४२) को सन्दर्भलाई आधार बनाउँदै कम्पनीका सबै उत्पादन पूर्णरूपमा हानिकारक रहेको भन्ने समाचार भ्रामक रहेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीकाअनुसार, उत्पादन तथा वितरण गरिँदै आएका विभिन्न उत्पादनमध्ये केही निश्चित ब्याचका पफ उत्पादनमा मात्रै गुणस्तरमा कमजोरी देखिएको सूचना प्राप्त हुनासाथ ती ब्याच तत्काल बजारबाट फिर्ता लिइएको हो। उक्त त्रुटि सम्पूर्ण उत्पादनमा नभई उल्लेखित ब्याचमा मात्र सीमित रहेको कम्पनीको भनाइ छ।
कम्पनीले विगत तीन दशकदेखि विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएको जानकारी दिँदै हालसम्म उपभोक्ताको विश्वास र मायाका कारण बजारमा लोकप्रिय रहँदै आएको र गुणस्तरीय उत्पादनमार्फत उपभोक्ताको सेवा गर्नु नै कम्पनीको मूल मर्म भएको बताएको छ ।
उत्पादन प्रक्रियामा कहिलेकाहीँ यस्ता प्राविधिक त्रुटि देखिन सक्ने र त्यस्तो अवस्थामा उत्पादन फिर्ता लिनु कम्पनीको दायित्व हुने उल्लेख गर्दै खजुरीको नेपालले अन्तर्राष्ट्रिय मान्यताअनुसार जिम्मेवारी पूरा गरेको जनाएको छ।
हाल बजारमा उपलब्ध खजुरीको नेपालका उत्पादनहरू उच्च गुणस्तरयुक्त र प्रमाणित रहेको कम्पनीको दाबी छ। साथै, उत्पादनहरू स्वच्छ र स्वस्थ वातावरणमा उत्पादन हुने र आन्तरिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाबाट नियमित परीक्षण गरिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया