पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिबद्धता

बुधबार, ०२ पुस २०८२, १४ : ३५

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार पाँच महिनामा स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको हो ।

यस अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्याका आधारमा आईसीटी क्षेत्र शीर्ष स्थानमा देखिएको छ । कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित छन् । यस्तै, लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढि लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । परियोजनाको संख्या धेरै भएपनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सिमित छ ।

त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको छ । क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ ।

परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

सार्वजनिक तथ्यांकअनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिव १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 
 

 
बुधबार, ०२ पुस २०८२, १४ : ३५

प्रतिक्रिया