भीजी मोटर्सद्वारा एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

बुधबार, ०९ पुस २०८२, १३ : ०७

काठमाडौं- नेपालमा एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक भएको छ । 

नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी) को अधिकृत विक्रेता भीजी मोटर्सले भ्यान सार्वजनिक गरेको हो ।

५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ । यो भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई निकै उपयोगी मानिएको छ । नेपालभरिमा कम्पनीका ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरु छन् । यसका स्पेयर पार्ट्सको मूल्यको अरु ईभीको तुलनामा ८० प्रतिशत कम पर्छ ।

सो अवसरमा कम्पनीले ईभी बारेको मिथक र भावी प्रभावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा सवारीधनीका मुख्य चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिएका छन् । कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराए । उनले नेपाल भित्र्याइएको विद्युतीय सवारी (ईभी) प्रविधिको विश्वव्यापी बजारमा परीक्षण भइसकेको र यसले स्थानीय हावापानीमा पनि विश्वसनीयता सुनिश्चित गर्ने बताए ।

अटोमोटिभ ईभी ड्राइभ ट्रेन विशेषज्ञ सम्राट गौतमले वातावरणसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतले घटाउने बताए । उनले एउटा मात्र डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा पनि काठमाडौं जस्ता सहरी क्षेत्रको वायु गुणस्तरमा ठूलो सकारात्मक प्रभाव पर्ने बताए ।

कम्पनीका बिजनेस हेड चन्दन रौनियारले सुरुवाती लगानी पेट्रोल वा डिजेल गाडीको तुलनामा केही फरक भए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अतुलनीय रहेको प्रष्ट पारे । 

मेकानिकल इन्जिनियर दीपक शर्माले विद्युतीय सवारीको मेकानिक्सबारे जानकारी गराएका थिए । ‘ईभीमा इन्धन गाडीको तुलनामा चलायमान पार्टपुर्जाहरू कम हुने भएकाले मर्मत खर्च ६० प्रतिशतभन्दा बढीले कम हुन्छ,’ उनले भने । उनले यसमा आयल चेन्ज, स्पार्क प्लग र जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने बताए ।

खरिदकर्तामा हुने ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै दिनेश दाहालले ब्याट्री रिसाइक्लिङमा भएका प्रगति र घट्दो प्रतिस्थापन लागतबारे चर्चा गरे । उनले आधुनिक ईभी ब्याट्रीहरू गाडीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र रिसाइक्लिङ कार्यक्रमहरूले ‘चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक र इन्जिनियरहरू ल्याएर विद्युतीय सवारीचालक र सवारीधनीलाई ईभीका विविध पक्षबारे जानकारी गराउन यस्ता कार्यशालाहरू आयोजना गर्दै जाने बताए ।

 
 
 
बुधबार, ०९ पुस २०८२, १३ : ०७

प्रतिक्रिया