काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजश्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड संकलन गरेको छ ।
वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजश्व संकलन भएको हो । राजश्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजश्व रहेको बताए ।
त्यस्तै दोस्रो धेरै राजश्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट रु १२ अर्ब ७४ करोड रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजश्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।
त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने रु पाँच अर्ब ६५ करोड राजश्व संकलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने रु चार अर्ब ८५ करोड राजश्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजश्व संकलन गरेको छ ।
प्रतिक्रिया