रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि बिक्री खुला

आइतबार, १३ पुस २०८२, १० : २३

काठमाडौं- रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ करोड ८५ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।

सो आईपीओ खरिदका लागि गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाको सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिकाको वडा नं १, २, ३ तथा दोर्दी गाउँपालिकाको वडा नं ४, ५ र ६ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा पुस २८ गतेसम्म आवेदन नि सक्नेछन् भने ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

त्यस्तै, स्थानिय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, प्रभु क्यापिटल लिमिटेडको अनलाइन लिंकमा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

 
आइतबार, १३ पुस २०८२, १० : २३

प्रतिक्रिया