रिलायन्स स्पिनिङको आईपीओ यही साता बाँडफाँट हुने

बुधबार, १६ पुस २०८२, १२ : २०

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ यहि साताको शुक्रबार बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन भएको कम्पनीको आईपीओमा ५ लाख ८३ हजार ९७५ जना आवेदकहरूबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता आईपीओ खरीद माग भएको हो।

कम्पनीले थप सर्वसाधारण लगानीकर्तामा पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत र सर्वसाधारणमा ६० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले २०८० साल माघमै योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत सेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको सेयरमध्ये पनि १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ १८ हजार ४९५ जनाले ५०।५० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्यका ३६ जनाले भने ५१।५१ कित्ता सेयर पाउनेछन् ।

 
बुधबार, १६ पुस २०८२, १२ : २०

प्रतिक्रिया