काठमाडौं महानगर वडा ८ मा १५० रुपैयाँमै एक्स-रे सेवा सुरु

शनिबार, १९ पुस २०८२, ११ : २६

काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ ।  

जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेका हुन् ।

उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताए। 

“माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ”, उनले भने । वडाअध्यक्ष सङ्गतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना रहेको बताए । उनका अनुसार कामपाबाट  सञ्चालन भएको एक्स–रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो ।

विभागको भण्डार शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स–रे सेवा जडान हुँदैछ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ । 

 
शनिबार, १९ पुस २०८२, ११ : २६

प्रतिक्रिया