नेपाल चेम्बरमा एआई नीति र डिजिटल रूपान्तरणबारे सरोकारवालाबीच छलफल

बुधबार, २३ पुस २०८२, ११ : १३

काठमाडौं- नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविष्यबारे बृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानुनी सहजता मार्फत डिजिटल भविष्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबिच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशको सुशासनका लागि आइटिको विकास महत्त्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आइटिको विकास महत्त्वपूर्ण हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधार बन्दै गएको बताए । डिजिटल रूपान्तरण मार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यावसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको भूमिका महत्त्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाई छ । अध्यक्ष अग्रवालले एआईको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सीमित श्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुलको भूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए । कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आइटिको विकास मार्फत दिगो आर्थिक विकास गर्नुपर्ने बताए । उनले सार्वजनिक निजी साझेदारी मार्फत आइटी क्षेत्रको विकास गर्न सकिए युवाहरूको वैदेशिक पलायन रोक्न सकिने बताए ।

कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपालमा एआई नीतिको प्रभावकारिता, कानुनी जटिलता, डेटा सुरक्षा, साइबर जोखिम जस्ता विषयमा धारणा राखेका थिए । सो क्रममा चेम्बरको आइटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युनियन अफ इन्फरमेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी नेपालबीच सूचना प्रविधि र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ । 

सम्झौतामा चेम्बर आइटी समिति सभापति विज्ञान श्रेष्ठ र युनियन अफ इन्फरमेसन कम्युनिकेसन एन्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुशल रेग्मीले हस्ताक्षर गरेका हुन् । 

 
बुधबार, २३ पुस २०८२, ११ : १३

प्रतिक्रिया