काठमाडौं- नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी रोकथामसम्बन्धी नीतिगत र सञ्चालनगत प्रगति सार्वजनिक गरेको हो।
सो अवधिमा शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन परिमार्जन गर्नुका साथै वर्षभरि सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन निकाय तथा सरोकारवाला संस्थाका लागि क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आ.व. २०८०/८१ मा १,६३९ सूचक संस्था प्रणालीमा आबद्ध रहेकामा २०८१/८२ मा यो संख्या ३,४९७ पुगेको छ । सो अवधिमा ९,५६५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
प्राप्त प्रतिवेदनको विश्लेषण पनि करिब ४० प्रतिशतले वृद्धि भएको इकाईले जनाएको छ । विश्लेषणपछि ९४५ वटा शंकास्पद कारोबारमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा पठाइएको छ । यसले वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा सहयोग पुगेको इकाईको विश्वास छ ।
अन्तर्राष्ट्रिय समन्वयतर्फ, इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराधविरुद्ध सहकार्य विस्तार गरिएको प्रतिवेदनमा उल्लेख छ । साथै, सन् २०२३ को पारस्परिक मूल्याङ्कनपछि नेपाल ‘ग्रे-लिस्ट’मा परेपछि गरिएका समन्वयात्मक प्रयाससमेत प्रतिवेदनमा समेटिएको छ ।
प्रतिक्रिया