काठमाडौं — विभिन्न राजनीतिक दल तथा सामाजिक संगठनमा आबद्ध वामपन्थी, लोकतन्त्रवादी, समाजवादी र पहिचानवादी युवाहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य र भावी नेतृत्व निर्माणबारे केन्द्रित वृहत् छलफल आयोजना गर्ने भएका छन्।
आइतबार जारी संयुक्त वक्तव्यअनुसार आगामी असार ४ गते आयोजना हुने उक्त छलफलले लोकतान्त्रिक मूल्यमा आधारित समावेशी आन्दोलनको साझा कार्यदिशा तय गर्ने लक्ष्य राखेको छ।
वक्तव्यमा विगतका नेताहरूले पुर्याएको ऐतिहासिक तथा सकारात्मक योगदानको सम्मान गर्दै उनीहरूलाई अभिभावकीय भूमिकामा स्थापित गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, सक्षम, जनउत्तरदायी र दूरदर्शी नयाँ पुस्ताको नेतृत्व विकास गर्नु वर्तमान समयको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।
छलफलमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समावेशिता, सामाजिक न्याय, संविधानको प्रभावकारी कार्यान्वयन तथा जनअधिकारको संरक्षणका विषयमा व्यापक बहस हुने जनाइएको छ। संविधानको कार्यान्वयन प्रक्रियामा जनसहभागिता बढाउने, सरकारका गतिविधिमाथि निगरानी गर्ने तथा लोकतान्त्रिक मूल्यविपरीत हुने गतिविधिप्रति खबरदारी गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
वक्तव्यमा उत्पीडित वर्ग, समुदाय, जाति, क्षेत्र, लिङ्ग तथा आम नागरिकका हकहित सुनिश्चित गर्न राष्ट्रियता, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर साझा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आयोजकहरूले आगामी असार ४ गते हुने वृहत् छलफल कार्यक्रममा लोकतान्त्रिक मूल्य र सामाजिक रूपान्तरणप्रति प्रतिबद्ध सबै युवाहरूलाई सहभागी हुन आह्वान गरेका छन्।
संयुक्त वक्तव्यमा लक्ष्मी गुरुङ, तिलक थापा मगर, चन्द्र खड्का ‘असल’, अधिवक्ता रत्नेश्वर प्रसाद शर्मा, प्रकाश शाही, लोकगायक तिलक परियार, जिवछ यादव, प्रोसिद चौधरी तथा लेखक–पत्रकार मनऋषि धिताललगायतका व्यक्तित्वहरूको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया