नीति संवाद

एउटा बजेटले दशकौं पुराना समस्या हल गर्न सक्दैन : अर्थमन्त्री वाग्ले

सोमबार, २५ जेठ २०८३, १६ : ३१

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले देशमा दशकौंदेखि थाँती रहेका सबै समस्या एउटा बजेटमार्फत समाधान हुने अपेक्षा अव्यावहारिक भएको बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले बजेटप्रति हुने अत्यधिक अपेक्षा र अतिरञ्जनाले वास्तविकता ओझेलमा पार्ने गरेको बताए।

उनका अनुसार सरकारले बजेट तयार गर्दा स्रोत व्यवस्थापन, अनिवार्य खर्च र पूर्वनिर्धारित दायित्वका कारण करिब ७० प्रतिशत बजेटको संरचना पहिले नै तय भइसकेको हुन्छ। त्यसैले बजेट सार्वजनिक हुँदैमा सबै समस्या समाधान हुन्छ भन्ने धारणा सही नभएको उनले स्पष्ट पारे।

मन्त्री वाग्लेले स्रोतको सीमितता, समयको चाप र उच्च अपेक्षाबीच बजेट ल्याइएको उल्लेख गर्दै विगत तीन दशकयता पहिलो पटक कर प्रणालीको दायरा र संरचनामा व्यापक सुधारको प्रयास गरिएको बताए। यद्यपि समय अभावका कारण अझ परिपक्व ढंगले काम गर्न सकिने सम्भावना रहेको स्वीकार गर्दै उनले आगामी दिनमा त्यसलाई थप सुधार गरिने संकेत गरे।

सरकारले निर्वाचनअघि गरेको समग्र करको भार घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्न बजेटमार्फत विभिन्न कर संरचनामा परिवर्तन गरिएको उनको भनाइ थियो। उनले बजेटलाई अन्तिम समाधानका रूपमा नभई आर्थिक सुधारको आधार तयार गर्ने दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखे।

अर्थतन्त्रलाई दिगो रूपमा गति दिन निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै वाग्लेले बजेटले केही रणनीतिक आधार र सम्भावना सिर्जना गरेको तथा त्यसलाई उपयोग गरेर निजी क्षेत्रले लगानी, उत्पादन र रोजगारी विस्तार गर्नुपर्ने बताए।

 
सोमबार, २५ जेठ २०८३, १६ : ३१

प्रतिक्रिया