काठमाडौं- अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १० लाख ९ हजार ५३१ कित्ता सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
उक्त आईपीओको कुल रकम १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबर हुनेछ । आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यश पुरी र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता मिति २०८२ साल पुस २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो ।
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग मध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ ।
कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरुलाई आफ्ना उत्पादनहरु आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ ।
यस संस्थागत सहकार्यले एएमडीयूको आईपीओतर्फको यात्रालाई संरचित र सुदृढ बनाउँदै सार्वजनिक बजार प्रवेशको तयारीमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया