काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा आज पुस ३० गते काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारण सभामा करिब ९१.५६ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको थियो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धी वातावरणकाबीच मुनाफाभन्दा सेवाभावलाई प्राथमिकतामा राखेर दुर्गम तथा विकट क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गरिएको बताए । डिजिटल नेपाल निर्माण, विद्युतीय सुशासन प्रवर्द्धन र अप्टिकल फाइबरमार्फत सूचना महामार्ग विस्तार कम्पनीका प्रमुख प्राथमिकता रहेको उनले उल्लेख गरे।
अध्यक्ष अर्यालका अनुसार समीक्षा अवधिमा कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी करिब ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। सोही अवधिमा कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाइएको छ। हालसम्म ७७ जिल्लाका ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भइसकेको पनि उनले जानकारी दिए ।
सभाले पारित गरेको लाभांश रकम आजैदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया