अब सामाजिक सुरक्षा कोषमा योगदान सुरु गरेको एक वर्षमै सापटी पाउने

विहीबार, ०१ माघ २०८२, १२ : ०६

काठमाडौं- सामाजिक सुरक्षा कोषमा योगदान सुरु गरेको एक वर्षमै योगदानकर्ताले विशेष सापटी पाउने व्यवस्था लागू गरिएको छ । 

कोषले हालको प्रावधान हटाउँदै नियमित रूपमा १२ महिना योगदान गर्ने योगदानकर्तालाई विशेष सापटी उपलब्ध गराउने निर्णय गरेको हो ।

कोषमा नियमित १२ महिना योगदान गरेपछि न्यूनतम १० हजार रूपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म पाइने उल्लेख छ।

कोषका अनुसार विशेष सापटी रकमको ब्याजदर ५.२ प्रतिशत तोकिएको छ।

यसअघि यस्तो सापटी लिनका लागि योगदानकर्ताले नियमित ३६ महिना (तीन वर्ष) योगदान गर्नुपर्ने प्रावधान थियो।

हालसम्म सामाजिक सुरक्षा कोषमा २२ हजार ७३९ रोजगारदाता र २७ लाख ४० हजार ४४४ योगदानकर्ता आबद्ध भएका छन् । तीमध्ये औपचारिक क्षेत्रका ६ लाख ६६ हजार ९८३, वैदेशिक रोजगारीमा रहेका २० लाख ७१ हजार ९१२, अनौपचारिक क्षेत्रका ८११ तथा ७३८ जना स्वरोजगार व्यक्ति रहेका छन् ।

कोषमा हालसम्म ९९ अर्ब ५६ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ भने १८ अर्ब ३३ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । 

 
विहीबार, ०१ माघ २०८२, १२ : ०६

प्रतिक्रिया