काठमाडौं- आज (माघ १ गते) बाट काठमाडौंको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरु भएको छ। डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सको संयुक्त आयोजनामा सुरु भएको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ।
आजको माघे संक्रान्ति विशेष कार्यक्रम अन्तर्गत मौलिक परिकार र फुड फेस्टिभल, परिकार प्रदर्शनी, लाइभ कुकिङ, र स्थानीय खानाको प्रवर्धन गरिएको छ। प्रमुख परिकारमा चाकु, तिल, तरुल, खिचडी, सेलरोटी, घ्यू–मह लगायत परम्परागत स्वाद समावेश छन्।
मेलाको माघ विशेष ५ दिने कार्यक्रम पनि आजदेखि सुरु भएको छ। माघ ३ गते सहभागी पालिकाका प्रतिनिधिहरूलाई मेला उद्देश्य, स्टल व्यवस्थापन, ब्रान्डिङ र बिक्री रणनीति सम्बन्धी अभिमुखीकरण गरिने छ। माघ १० गते स्टल र पवेलियनको संरचना स्थापना हुँदै प्रचार–प्रसार सामग्री जडान गरिनेछ भने माघ १७ गते सातै प्रदेशबाट ३० पालिकाको सहभागितामा स्थानीय उत्पादन र परिकार प्रदर्शनी हुने जनाइएको छ।
माघ २४ गते औपचारिक उद्घाटन समारोहमार्फत प्रमुख अतिथि, विशिष्ट व्यक्तिहरू, मिडिया र सरोकारवालासहित ५२ हप्ते मेला औपचारिक रूपमा घोषणा गरिनेछ।
आयोजकका अनुसार मेलाले ग्रामीण नेपालको स्वादलाई शहरी घरधुरीसम्म पुर्याउने दीर्घकालीन प्रयासको रूपमा काम गर्नेछ। दुर्गम क्षेत्रका साना किसानबाट सङ्कलित कच्चा पदार्थलाई पोषणयुक्त, स्वच्छ र न्यून प्रशोधन गरिएका खाद्य सामग्रीको रूपमा उपभोक्तासम्म पुर्याइनेछ। यसले किसानलाई उचित मूल्य सुनिश्चित गर्नुका साथै स्थानीय प्रशोधन, प्याकेजिङ र रोजगारी सिर्जनामा पनि योगदान पुर्याउने विश्वास लिइएको छ।
मेलामा सातै प्रदेशका स्थानीय शेफद्वारा तयार गरिएका परिकार, स्थानीय कृषि तथा गैर–कृषि उत्पादनको प्रदर्शनी, प्रत्यक्ष बिक्री, पोषण र जैविक विविधता सम्बन्धी जनचेतना कार्यक्रम, परम्परागत संगीत र सांस्कृतिक पोशाकको प्रस्तुति हुने आयोजकले जानकारी दिएका छन्।
प्रतिक्रिया