चुनावी अग्निपरीक्षामा नयाँ दल : सडकबाट मतपेटिकासम्मको यात्रा

शुक्रबार, ०२ माघ २०८२, ११ : ५२

जेन–जी आन्दोलनले मुलुकलाई चुनावी प्रक्रियामा प्रवेश गराएको छ। लामो समय अस्तव्यस्त बनेको राजनीतिक परिवेश निर्वाचन प्रक्रियाबाट लयमा फर्कदैछ । आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ, जसमा मिश्रित प्रणालीअनुसार १६५ जनालाई प्रत्यक्ष र ११० जनालाई समानुपातिक प्रणालीबाट निर्वाचित गरिनेछ । यसरी कुल २७५ सदस्यीय प्रतिनिधि सभाको गठन हुनेछ । 

पुराना दलहरू, विशेषगरी प्रतिनिधि सभा पुनःस्थापनाको एजेन्डा बोकेका दलहरू, समानुपातिकतर्फको बन्द सूची बुझाएर निर्वाचनमा प्रवेश गरिसकेका छन् । तर नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने सम्भावना उत्तिकै बढाएको छ ।

सडकबाट उठेको असन्तोषको स्वर अब मतपेटिकातर्फ मोडिएको छ। जेन–जी आन्दोलन केवल आक्रोश मात्र थिएन, यो युवा पुस्ताको सामूहिक असन्तोष र परिवर्तनको आकांक्षाको अभिव्यक्ति थियो। आन्दोलनले वैकल्पिक राजनीतिक शक्ति सिर्जना गरिरहेको छ, तर वास्तविक परीक्षा मतपेटिकाले गर्नेछ। केवल ऊर्जा वा भावनाले चुनाव जित्न सकिँदैन; अनुशासन, स्पष्ट दृष्टिकोण, ठोस नीति र बलियो संस्थागत क्षमता अनिवार्य छ ।

पुराना दललाई आलोचना गरेर मात्र नयाँ बन्न सकिँदैन। आन्दोलनको भावना नीति, कार्यक्रम र व्यवहारमा कार्यान्वयन गर्न सकेन भने जनताले दिएको अवसर क्षणिक हुनेछ। यही निर्वाचन पुराना दलहरूको लागि आत्मसमीक्षाको घडी हो ।

नयाँ दलहरूले सडकका नाराबाट पहिचान पाएका छन्, तर वैधता भने मतपेटिकाले दिनेछ। निर्वाचनले भावनाभन्दा कार्यक्रम, नाराभन्दा नीति खोज्छ । यसैले नयाँ दलहरूको ‘अग्निपरीक्षा’ यही निर्वाचन हो। सफल भए लोकतन्त्रभित्रको प्रतिस्पर्धा बलियो हुनेछ; असफल भए निराशा अझ गहिरिनेछ ।

जनताले विकल्प खोजेका छन्, प्रयोग होइन। नयाँ दलहरूले भावनाको सट्टा जिम्मेवारी, नाराको सट्टा नतिजा, आलोचनाको सट्टा ठोस विकल्प प्रस्तुत गर्नैपर्छ। अहिलेसम्म वैकल्पिक शक्तिका गतिविधि धेरै हदसम्म स्टन्टबाजीमै सीमित देखिएका छन् ।

व्यक्तिगत पृष्ठभूमि हेर्दा नयाँ दलका शिर्ष नेताहरुका क्षमता पूर्ण रूपमा सन्तोषजनक भने छैन, तर जनताले आशा राखेका छन् । चुनावी अग्निपरीक्षामा सफल भए यी बिद्रोह र वैकल्पिक शक्तिहरू देशमा परिवर्तनका संवाहक बन्न सक्छन्। अन्यथा, ‘नयाँ’ भन्ने शब्द पनि चाँडै पुरानै राजनीतिक सूचीमा समाहित हुनेछन् ।


 

 
 
शुक्रबार, ०२ माघ २०८२, ११ : ५२

प्रतिक्रिया