हिमालयन बुलियनले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल नियुक्त

आइतबार, ०४ माघ २०८२, १२ : ३०

काठमाडौं- चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको जानकारी दिएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ज्योति क्यापिटलले हिमालयन बुलियनको आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायहरूसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ । 

कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत), सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइनेछ ।

कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । 

हिमालयन बुलियन कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका-१ मा रहेको छ ।
 

 
आइतबार, ०४ माघ २०८२, १२ : ३०

प्रतिक्रिया