भरत न्यौपानेले छाडे प्रचण्डको साथ, प्रलोपामा प्रवेश

मंगलबार, ०६ माघ २०८२, १६ : १६

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरत न्यौपानेले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। न्यौपानेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समाज परिवर्तनको लामो राजनीतिक तथा सामाजिक यात्रालाई पूर्णविराम दिँदै अब सुरु गर्ने बताएका हुन्। 

उनले देश र समाज परिवर्तनका लागि जीवनको महत्वपूर्ण समय समर्पण गरे पनि पछिल्लो समय पार्टी नेतृत्व र अभ्यासबाट गम्भीर असन्तुष्टि पैदा भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनी आजै प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)मा प्रवेश गरेका छन् ।

उनले माओवादी .जनयुद्धका बलिदान, शान्ति प्रक्रियापछिको पार्टीको बाटो र नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। सिद्धान्त र विचारभन्दा व्यक्ति केन्द्रित राजनीति, ‘म नै राजा, म नै पार्टी’ भन्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको उनको आरोप छ। यसै कारण आफूजस्ता इमानदार कार्यकर्ता किनारामा परेको उनले उल्लेख गरेका छन्।

न्यौपानेले महान जनयुद्धमा सहिद भएका परिवार, घाइते योद्धा तथा परिवर्तनका लागि लडेका कार्यकर्ताप्रति पार्टी नेतृत्वले अपेक्षित सम्मान र जिम्मेवारी पूरा गर्न नसकेको पनि बताएका छन्। आन्दोलनबाट प्राप्त उपलब्धिहरू संकटमा परेको र जनताको भरोसा खस्किएको उनको ठहर छ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्र बढ्दो आन्तरिक विरोध र नयाँ परिवेशमा पुराना पार्टीहरूले आत्मसमीक्षा गर्न नसकेको अवस्थालाई समेत राजीनामाको कारणका रूपमा उनले उल्लेख गरेका छन्।

उनले साविक नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्षलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्।

विज्ञप्तिमा उनले तत्कालीन नेतृत्वले हजारौँ सहिद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गर्न नसकेको आरोप लगाउँदै व्यक्तिगत स्वार्थ र अहंकारबाट निर्देशित नेतृत्वसँग अब सँगै अघि बढ्न नसक्ने स्पष्ट पारेका छन्।

न्यौपानेले जनमुक्ति सेनाका पूर्वयोद्धा, श्रमिक, किसान तथा गरिब वर्गको हक–हितका पक्षमा आफ्नो आवाज निरन्तर उठिरहने प्रतिबद्धता जनाएका छन्।

 

 
 
 
मंगलबार, ०६ माघ २०८२, १६ : १६

प्रतिक्रिया