राजन दाहाललाई अस्वीकार गर्दै नेकपा सिन्धुलीले बनायो महेश्वर दाहाललाई उम्मेदवार

मंगलबार, ०६ माघ २०८२, १६ : ४५

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको सिफारिस विपरीत एकलौटीरुपमा राजन दाहाललाई सिन्धुली २ मा टिकट दिएपछि त्यसलाई जिल्ला पार्टीले अस्वीकार गरेको छ । 

जिल्लाले उम्मेदवार सिफारिस समेत नगरेका राजन दाहाललाई प्रचण्डले एकलौटी रुपमा उम्मेदवार बनाएपछि नेकपा सिन्धुली जिल्ला कमिटीले महेश्वर दाहाललाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गरेर मनोनयन दर्ता गराएको हो ।

यसअघि पार्टी केन्द्रबाट एकलौटी रुपमा राजनलाई चुनावको टिकट दिइएको भन्दै जिल्लाका नेताहरु असहमति जनाएका थिए । जिल्लाका नेताहरु बुद्धिमान माझी बसन्त, पानीराज बम्जन, विनोद विक,सूर्य पाख्रिन, चित्र लुंगेली, भरत योञ्जन, चित्र पुलामी, सुरद बहादुर स्याङतान र मोदनाथ तिमिल्सिना(विमल) लगायतका नेताहरुले प्रचण्डलाई निर्णय सच्याउन पत्राचार गरेका थिए । 

गत निर्वाचनमा सिन्धुली २ बाट निर्वाचित राजन दाहाल जिल्ला र प्रदेशको उम्मेदवार सिफारिस विपरीत प्रचण्डको एकल निर्णयमा उम्मेदवार बनेका थिए । उनलाई जिल्ला पार्टीले अस्वीकार गर्दै प्रेस सेन्टरका संस्थापक अध्यक्ष समेत रहेका जिल्लाका माओवादी जनयुद्धकालीन नेता महेश्वर दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

 
मंगलबार, ०६ माघ २०८२, १६ : ४५

प्रतिक्रिया