ईयूले अमेरिकासँगको व्यापार सम्झौता निलम्बन गर्ने भएपछि विश्वबजारमा हलचल

बुधबार, ०७ माघ २०८२, १३ : ४३

युरोपेली संसद्‌ले जुलाईमा संयुक्त राज्य अमेरिकासँग भएको व्यापार सम्झौतालाई निलम्बन गर्ने योजना बनाइरहेको उसको अन्तर्राष्ट्रिय व्यापार समितिनिकट स्रोतहरूले बताएका छन्।

उक्त निलम्बनबारे फ्रान्सको स्ट्राज्बर्गमा बुधवार घोषणा गरिने भएको छ।

ग्रीनल्यान्ड लिने आफ्नो योजनाको विरोध गर्ने युरोपेली देशहरूमाथि थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धम्कीबीच यो कदमसँगै अमेरिका र युरोपबीच थप तनाव चुलिने देखिन्छ।

अमेरिका र युरोपबीच जारी बाझाबाझका कारण वित्तीय बजार हल्लिएको छ, जसले व्यापारयुद्ध तथा अमेरिकाले अवलम्बन गरेका व्यापारका उपायहरूविरुद्ध जबाफी कारवाहीका सम्भावनाबारे फेरि चर्चा सुरु भएको छ।

एट्लान्टिकका दुवैपट्टि मङ्गलवार शेअर बजार मन्द देखियो भने युरोपेली शेअर बजारहरूमा लगातार दोस्रो दिन घाटा भइरहेको पाइयो।

अमेरिकाको डाउ जोन्समा १.७ प्रतिशतभन्दा बढीले गिरावट आयो भने एस एन्ड पी ५०० मा २ प्रतिशतभन्दा बढी र नास्डाकको कारोबारमा २.४ प्रतिशतभन्दा बढीको गिरावट भएको देखियो।

एशिया प्यासिफिक क्षेत्रका शेअर बजारहरूमा बुधवार मिश्रित असर देखिएको छ। जापान र अस्ट्रेलियामा सामान्य गिरावट भएको छ भने मुख्य भूभाग चीनमा शेअर बजार उकालो लागेको पाइएको छ।

सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ र पहिलो पटक प्रतिआउन्स ४,८०० अमेरिकी डलर नाघेको छ। चाँदीको मूल्य ९४ डलर प्रतिआउन्सको कीर्तिमान उच्च स्तरबाट खसेको छ।

गत जुलाईमा अमेरिका र ईयूले व्यापार सम्झौता गरेयता द्विपक्षीय व्यापार तनाव मत्थर भएको थियो।

उक्त सम्झौताले युरोपेली सामानहरूमा १५ प्रतिशत शुल्क लगायो, त्यसअघि ट्रम्पले ३० प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए।

त्यो सम्झौताको बदलामा युरोपले अमेरिकी बजारमा लगानी गर्ने र अमेरिकी निर्यात बढाउने अपेक्षा गरिएको परिवर्तन ल्याउन सहमति जनायो।

सम्झौतासँगै केही निश्चित उत्पादनहरूमा शून्य शुल्कसहित अमेरिकी निर्यातकर्ताहरूका लागि २७ सदस्यीय ईयूले आफ्नो बजार खोल्ने ट्रम्पले त्यस बेला बताएका थिए।

युरोपेली आयोगकी अध्यक्षले विश्वव्यापारको करिब एकतिहाइ भाग ओगट्ने दुई साझेदारहरूका लागि सम्झौताले स्थायित्व ल्याउने भन्दै त्यसको प्रशंसा गरेकी थिइन्।

तर उक्त सम्झौतालाई औपचारिकता दिनका लागि युरोपेली संसद्‌ले अनुमोदन गर्न बाँकी नै छ।

तर ग्रीनल्यान्डको विषयलाई लिएर ट्रम्पले ट्यारिफ बढाउने ताजा चेतावनी दिएसँगै युरोपेली संसद्‌का एक प्रभावशाली जर्मन सदस्य म्यान्फ्रेड वेबरले ‘यो अवस्थामा अनुमोदन सम्भव नभएको’ बताएका छन्।

अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी युरोपेली संसदीय समितिका सभापति बर्न्ड लाङ्गले ग्रीनल्यान्डबारे दिइएको चेतावनीपछि उक्त सम्झौतालाई निलम्बन गर्नुको ‘विकल्प नरहेको’ बताए।

बीबीसी न्यूज नेपाली

 
बुधबार, ०७ माघ २०८२, १३ : ४३

प्रतिक्रिया