काठमाडौं- लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूका लागि लक्षित सीप सुधार कार्यक्रम (SIP) को औपचारिक सुरुवात गरेको छ। “शिक्षा, दक्षता र सुरक्षा” भन्ने नारामा आधारित यो कार्यक्रम प्रारम्भमा काठमाडौंमा सञ्चालन हुने र निकट भविष्यमै देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीशियनहरूका लागि विशेष रूपमा तयार गरिएको यो कार्यक्रममार्फत प्राविधिक सीप सुदृढ गर्दै सुरक्षित इलेक्ट्रिक अभ्यास प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। बीस दिने तालिममा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणालीलगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइनेछ।
तालिम सीटिइभिटीसँग आबद्ध बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ। संरचित र उद्योग–सम्बन्धित प्राविधिक शिक्षा सुनिश्चित गर्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको जनाइएको छ।
कार्यक्रमको औपचारिक सुरुवात लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशील कुमार श्रेष्ठबीच भएको सम्झौतापत्र हस्ताक्षर समारोहमार्फत गरिएको हो।
समारोहमा बोल्दै निर्देशक साक्षी गुप्ताले तालिमलाई समाज र ग्राहकप्रतिको जिम्मेवारीको रूपमा व्याख्या गर्दै सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत स्थापनामा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताइन्। बालाजु स्कूलका प्रिन्सिपल श्रेष्ठले प्रतिष्ठित उद्योगसँग सहकार्यले इलेक्ट्रीशियनहरूको सीप, व्यवसायिक दक्षता र सुरक्षा सचेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
नेपालकै अग्रणी तार, केबल र कन्डक्टर निर्माता लिट्मस इन्डस्ट्रिज लिमिटेडले यो पहलमार्फत दक्ष प्राविधिक जनशक्ति विकास र सुरक्षित विद्युत अभ्यास विस्तारमा आफ्नो प्रतिबद्धता पुनः स्पष्ट पारेको छ।
प्रतिक्रिया