काठमाडौं- वैदेशिक रोजगारीमा रहेका नेपालीले होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ।
होटलले माघ ४ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीको आईपीओ जारी गरेको थियो।
नेपाल धितोपत्र बोर्डले होटल फरेष्ट इनलाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता सेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यस होटलको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
प्रतिक्रिया