ब्रिटिस काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ १० वर्षमा प्रवेश, क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना

विहीबार, ०८ माघ २०८२, १६ : ३१

काठमाडौं- सांस्कृतिक संरक्षणका लागि सञ्चालित आफ्नो “कल्चरल प्रोटेक्सन फन्ड” १० वर्षमा प्रवेश गरेको घोषणा गर्न पाउँदा ब्रिटिस काउन्सिल खुशी व्यक्त गर्दछ । नेपालसहित विश्वका १९ वटा देशमा द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्त्वपूर्ण कार्यलाई निरन्तर दिन प्रतिबद्ध छ ।

सन् २०२२ देखि कल्चरल प्रोटेक्सन फन्डले नेपालमा आम नागरिकलाई इतिहास, पहिचान र आपसमा जोड्ने सम्पदाको संरक्षण र समुदायको सशक्तीकरणका लागि सहयोग गरिरहेको छ ।

फन्डमार्फत भएका महत्त्व कार्य निम्न अनुसार छन्:

नेपालमा कुसुन्डा जस्तो लोपोन्मुख भाषालाई सम्बन्धित समुदायले पुनर्जीवित गरिरहेका छन् भने महिलाको नेतृत्वमा मैथिल कलालाई सृजनात्मक तरिकाले पुनर्जीवन दिएका छन् । त्यस्तै, डोल्पामा हिमाली गुम्बाहरूको संरक्षणका लागि काम भएका छन् भने गण्डकीको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन लागेका आदिवासी समुदायको खाद्य परम्परा (फुड ट्रेडिसन) लाई दस्ताबेजमा उतार्दै यसको जर्गेना पहल अघि बढेको छ ।

बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजियमले सङ्ग्रहालयमा सङ्कलित सामाग्री तथा मौखिक परम्परालाई संरक्षण र सम्वद्र्धन गर्न व्यावसायिक व्यक्तिलाई तालिम प्रदान गरेको छ ।

पाकिस्तानमा इन्दुश डेल्टामा समुद्री सम्पदा र हजारा समुदायको शिल्पकलाको संरक्षणदेखि स्वात उपत्यकामा बुद्धका मूर्ति पुर्नस्थापना, ऐतिहासिक सिल्क रोडका भवन मर्मतका साथै कराँचीको खालिक्दिना हललाई एक जीवन्त सांस्कृतिक हबको रूपमा पुनर्स्थापनाका लागि सहयोग गरिएको छ ।

ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने, “आम नागरिकको तहमा लगानी गरिरहँदा कल्चरल प्रोटेक्सन फन्डले सम्पदा संरक्षण गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई उजागर गरेको छ, नेपालभर व्यावसायिक विकासका लागि नयाँ अवसरहरू सृजना गर्दै हामीले नेपालमा सांस्कृतिक संरक्षणको भविष्यलाई नयाँ स्वरूप दिन र सम्पदाका क्षेत्रमा क्रियाशील अभ्यासकर्ताको सीपलाई सबल बनाउन र सञ्जाल निर्माणमा सहयोग गरिरहेका छौँ ।”

समुदाय केन्द्रित यस प्रकारका पहलहरूले उनीहरूको पुनर्लाभ, उत्थानशीलता र नवीकरणमा महत्त्वपूर्ण योगदान गरेको छ । जसबाट समुदायलाई सांस्कृतिक विषयबारे ज्ञान प्राप्त गर्न तथा पहिचान र सांस्कृतिक सम्पदामा आधारित भई भविष्य तय गर्न सहयोग गर्नेछ ।

सन् २०२६ मा कल्चरल प्रोटेक्सन फन्ड अन्तर्गत ब्रिटिस काउन्सिलले देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना व्यावसायिक व्यक्तिलाई जनवरी २०-२३ सम्मका लागि क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरिरहेको छ । कार्यशालामा सम्पदा आयोजना व्यवस्थापनका सीप र सञ्जाल निर्माणका साथै सम्पदा क्षेत्रका व्यावसायिक व्यक्ति र संस्थाको पूर्व तयारी लगायत विषयमा उनीहरूलाई प्रशिक्षित गरिँदै छ ।

यस कार्यक्रमले नेपाल र विश्वभरका सांस्कृतिक सम्पदाका अभ्यासकर्तालाई विषयगत क्षेत्रमा समन्वय गराउँदै एक-आपसमा जोड्नेछ भने सम्पदाका क्षेत्रमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलहरूमा थप प्रभावकारी रूपमा सहभागी हुन सहयोग गर्नेछ ।

 
 
विहीबार, ०८ माघ २०८२, १६ : ३१

प्रतिक्रिया