म्याग्दी–आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका ९स्थानीय तह० बाट छ जनाले उम्मेदवारी दिएका छन् ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी ९मनोनयन० दर्ता गराउने दुई स्वतन्त्रसहित १३ जनामध्ये छ जना बेनी नगरपालिकाका रहनुभएको छ । त्यसैगरी एउटै वडाका दुई जनाले उम्मेदवारी दिनुभएको छ । म्याग्दीमा कुनै पनि महिलाले उम्मेदवारी दर्ता गराएका छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को तर्फबाट उम्मेदवारी दिनुभएका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट क्षेत्रबहादुर घिमिरे (ध्रुव) र स्वतन्त्र उम्मेदवार बन्नुभएका नवीन जिसी बेनी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट उम्मेदवारी दर्ता गराएका क्षेत्रबहादुर घिमिरे (ध्रुव) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका डम्बरबहादुर सुवेदी बेनी नगरपालिका–२ ज्यामरुककोटका हुन् । एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका हरिकृष्ण श्रेष्ठ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका देवेन्द्र कामी बेनी नगरपालिका–७ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवराज रोका बेनी नगरपालिका–४ र स्वतन्त्र उम्मेदवार नवीन जिसी बेनी नगरपालिका–८ का हुन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी रघुगङ्गा गाउँपालिका र स्वतन्त्र उम्मेदवारी दिएका डा महावीर पुन अन्नपूर्ण गाउँपालिकाका हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका अर्जुनबहादुर थापा धवलागिरि गाउँपालिकाका हुन् ।
यता म्याग्दीबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबारका लागि तोकिएको दाबीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबै जनाको उम्मेदवारी कायम रहेको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिए । नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा (तार्जन) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गरेका छन्। यद्यपि जिल्ला निर्वाचन कार्यालयबाट उम्मेदवारी फिर्ता भने बिहीबार साँझसम्म लिएका छैनन्।
बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रतिनिधिसभा सदस्यका लागि आफूले दिएको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार डा पुनलाई समर्थन गरेको जनाएका हुन् । एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया