आज अन्तर्राष्ट्रिय शिक्षा दिवस, विश्वभरका २५ करोड बालबालिका अझै विद्यालय बाहिर

शनिबार, १० माघ २०८२, ११ : ४०

काठमाडौं- आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो ।  

शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । 

शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड दिएको छ ।

सन् २०१५ सेप्टेम्बरमा दिगो विकासका लागि २०३० कार्यसूची अङ्गीकार गर्दा अन्तरराष्ट्रिय समुदायले १७ वटै दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको भूमिका  महत्वपूर्ण रहेको स्वीकार गरेको थियो । 

विशेषगरी दिगो विकास लक्ष्य-४ ले सन् २०३० सम्म सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै आजीवन सिकाइका अवसर प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

युनेस्कोका अनुसार हाल  विश्वभर २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर छन् र ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्।

 

 
 
शनिबार, १० माघ २०८२, ११ : ४०

प्रतिक्रिया