काठमाडौं- हिन्दू धर्म, संस्कृति तथा मूल्य-मान्यताको संरक्षण गर्दै समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ।
उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिने जनाइएको छ ।
हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्याम बस्नेतको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको सुरुवात गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी, समाजसेवी तथा अभियन्ताहरूको सहभागिता रहने जनाइएको छ।
अभियानका सचिव सन्तोष सिलवालले जानकारी दिँदै हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवर्द्धन अभियानका मुख्य उद्देश्य रहेको बताए। “यो अभियान धार्मिक सीमाभित्र मात्र सीमित रहने छैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा केन्द्रित हुनेछ,” उनले भने।
उनका अनुसार अभियानले सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिनेछ। त्यसैअन्तर्गत हरेक महिनाको पहिलो शनिबार सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यसले समुदायमा स्वच्छता, अनुशासन र सामाजिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
बैठकमा अभियानका आगामी कार्यक्रम, कार्ययोजना तथा संगठन विस्तारका विषयमा समेत छलफल भएको थियो। अभियानलाई देशका विभिन्न जिल्लासम्म विस्तार गर्दै जनस्तरसम्म पु¥याउने लक्ष्य लिइएको छ।
बैठकको अन्त्यमा हिन्दू जनजागरण अभियानलाई दीर्घकालीन, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको जनाइएको छ।
प्रतिक्रिया