ललितपुरमा मौलिक शैलीमा अभियान चलाउँदै प्रलोपाका उम्मेदवार सुबिन्द्र र रोहित

आइतबार, ११ माघ २०८२, १३ : ३१

काठमाडौं– आसन्न फागुन २१ गतेको आम निर्वाचनमा मुलुकभर उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । उम्मेदवारी दर्ता तथा फिर्ता लगायत सुरुवाती प्रकृयाको चरण सकिएसगै प्रचार प्रसारको काम प्रारम्भ भएको छ । 

विभिन्न दलको तर्फबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरु आफ्नै ढंगले प्रचारमा हिड्न सुरु गरेका छन । कतै भारी बोकेका, जनतालाई ढोग्दै हिडेका लगायत विभिन्न कृयाकलापका तस्वीर र भिडियोहरु सामाजिक सन्जालमा यत्रतत्र देखिन थालेका छन् ।

यसैबिच ललितपुर क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेद्वारहरु भने पृथक र मौलिक शैलीमा निर्वाचन प्रचारमा जुटेका छन । प्रत्यक्षतर्फका उम्मेदवार रोहित बास्तोला र समानुपातिक उम्मेदवार सुबिन्द्र तामाङले आफुहरु परम्परागत भड्किलो, रवाफिलो तथा खर्चालु प्रणाली नअपनाउने बताएका छन् । 

माघ १० गते निर्वाचन क्षेत्र अन्तर्गतकै गोदावरी नगरपालिकामा भएको छलफल पश्चात निर्वाचन अभियान सन्चालनका लागि प्रस्तावित कार्ययोजना मोटामोटी टुंगो लगाइएको निर्वाचन अभियानका सदस्य सुचन्द्र तामाङले बताएका छन् ।

उनका अनुसार निर्वाचनका क्रममा न्युनतम तथा अत्यावश्यक बाहेक कुनै खर्च नगर्ने, जनभेटघाट, अन्तर्कृया तथा आफ्नो विचार प्रस्तुत गर्ने, सामाजिक सन्जाल तथा एआई लगायत प्रबिधिको विकृत प्रयोग नगर्ने, प्रचार सामाग्रीको न्यूनतम प्रयोग गरेर चुनावी प्रचारलाई अघि बढाएका छन् ।

उनीहरुले रैथाने ज्ञान, सीप र प्रबिधी, रोजगारी तथा सम्भावनाहरुबारे चर्चा गर्ने, पूर्णतः पर्यावरणमैत्री तरिका अवलम्बन गर्ने, समसामयिक वैचारिक राजनीतिक विषयमा पिढीरआगन भेट तथा छलफल गर्ने, जनताहरुबाट सिक्ने एवम सकेसम्म जनताबाट केहि पनि नलिने लगायत स्वअनुशासन विषयमा साझा धारणा तय गरेका छन्। माघ १२ गते सोमबारबाट सुरु हुने अभियान ३ चरणको हुने बताएका छन् । यस क्रममा भेटघाट, सचेतना,विमर्श तथा बहस लगायत कार्यक्रमहरु पनि समावेश हुनेछन । 

निर्वाचन प्रचारमा बुद्ध, मार्क्स, चे ग्वेभारा, स्वनाम साथी, रुपचन्द्र विष्ट तथा जनयुद्ध लगायत संघर्षका सहिदहरुको तस्वीर र शिक्षाबारे प्रचार एवम चर्चा पनि गरिने बताइएको छ ।

अभियान सदस्य तामाङले पहिलो चरणको घरदैलो तथा भेटघाट सकिएपछि माघ २२र२३ गतेबाट अर्को चरणको ठोस कार्यक्रम सार्वजनिक गरिने वताएका छन ।

 
आइतबार, ११ माघ २०८२, १३ : ३१

प्रतिक्रिया