अमेरिकाको मिनियापोलिसमा सङ्घीय आप्रवासन अधिकारीहरूले गरेको एउटा घातक कारबाहीमा एक पुरुष नर्सको ज्यान गएसँगै घटनाको विरोधमा मानिसहरूले प्रदर्शन सुरु गरेका विवरणहरू आएका छन्।
प्रदर्शनकारीहरूले संघीय आप्रवासन कारबाहीको विरोध गरिरहेका बताइएको छ। शनिवार भएको घटनामा ३७ वर्षीय नर्स एलेक्स प्रिटी मारिएका थिए।
मिनेसोटाका गभर्नर टीम वाल्जले आफ्नो राज्यबाट सङ्घीय एजेन्टहरू फिर्ता गर्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई पुनःआग्रह गरेका छन्। उनले भनेका छन्, ‘यो अमेरिकाका निम्ति एउटा महत्त्वपूर्ण मोड हो।’
सामाजिक सञ्जाल ट्रूथ सोशलमा राष्ट्रपति ट्रम्पले गभर्नर वाल्ज र मिनियापोलिसका मेयर ज्याकोब फ्रेले उक्त राज्यका कारागार र जेलमा बन्द सबै ‘अवैध विदेशी अपराधी’ लाई निर्वासनको लागि जिम्मा लगाउनु पर्ने बताएका छन्।
उक्त राज्यका तथा सङ्घीय अधिकारीहरूले शनिवार प्रिटीको मृत्यु हुनुअघिका क्षणहरूबारे विरोधाभाषपूर्ण विवरणहरू दिएका छन्।
आइतवार आयोजित पत्रकार सम्मेलनहरूमा अधिकारीहरूले प्रिटीको व्यवहार र उनीसँग रहेको भनिएको बन्दुकका बारेमा भिन्दाभिन्दै कथन प्रस्तुत गरेका हुन्।
अमेरिकाका होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हतियार ‘देखाएका’ कारण उनीमाथि कारबाही गरिएको बताएका छन्। स्थानीय अधिकारीहरूले भने उक्त बन्दुक कानुनी रूपमा दर्ता भएको र उनले हतियार ‘नदेखाएको’ तथा उनीसँग हतियार अलग गरेपछि गोली हानिएको बताएका छन्।
घटना र हतियार राख्न पाउने प्रिटीको संविधानको दोस्रो संशोधनप्रदत्त अधिकारका बारेमा सांसदहरू पनि निरन्तर रूपमा विभाजित देखिएका छन्।
पेशाले नर्स प्रिटी अमेरिकी नागरिक थिए। उनका अभिभावकहरूले उनी एक ‘दयालु हृदय भएको व्यक्ति’ भएको बताएका छन्। साथै उनीहरूले आफ्नो छोराबारे ‘सत्य’ खोज्न पनि आह्वान गरेका छन्।
मिनियापोलिसमा प्रदर्शन र विरोधसँगै प्रिटीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यहाँ रहेका हाम्रा संवाददाताहरूले पहिले झडप भए पनि विरोध प्रदर्शन शान्तिपूर्ण रहेको बताएका छन्।
टार्गेट, बेस्ट बाइ र थ्री(एमलगायत मिनेसोटाका ६० भन्दा धेरै कम्पनीहरूले ‘तनाव मत्थर पार्न आह्वान गरेका छन्।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया