काठमाडौं - आगामी प्रधानमन्त्री पदका दाबेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका दाबेदार केपी शर्मा ओलीसँग सार्वजनिक बहस गर्न अस्वीकार गरेपछि अनेक प्रतिक्रियाहरु आएका छन् । अधिकांशले बालेनेको आलोचना गरेका छन् । आफूलाई भावि प्रधानमन्त्रीको दाबी गर्नेले प्रश्नबाट भाग्ने कुरा आफैमा कमजोर मनोविज्ञानको संकेत हो ।
यसअघि भावी प्रधानमन्त्री पदका अर्का दाबेदार ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू प्रधानमन्त्रीका सम्भावित उम्मेदवारबिच पब्लिक डिबेट गर्न तयार रहेको घोषणा गरेका थिए भने त्यसमा कमेन्ट गर्दै बालेनले उनीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका थिए। अवश्य पनि मुलुकको नेतृत्व गर्छु भन्नेले नागरिकलाई आफ्ना योजना र दृष्टिकोण सार्वजनिक रुपमा बताउन सक्नुपर्दछ । मिडिया फेस नै गर्न नसक्नेले कसरी मुलुकको नेतृत्व गर्न सक्छ भन्ने बहस यतिबेला तीब्र रुपमा उठेको छ । बालेन अहिलेसम्म रातमा स्टाटस लेख्दै आएका छन् । उनीमा राजनीतिक संस्कारको अभाव नै देखिन्छ ।
बालेनले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–५ का आफ्ना प्रतिस्पर्धी ओलीलाई जेनजी आन्दोलनमा मारिएका युवाहरूको ‘हत्यारा’ भएको आरोपसमेत लगाएका थिए। एउटा उम्मेदवारले यस्तो आरोप लगाउने कुरा नै स्वभाविक छैन । उनी को हुन कसैलाई बिना न्यायिक परिक्षण हत्यारा करार गर्ने ? ओली हत्यारा हुन भने उनी पनि उक्त घटनामा चाखो हुन सक्तैनन् । उनकै स्टाटसले युवाहरु सडकमा आएको बताइरहेका छन् । स्कुल पोशाकमा कलिला बालबालिकाहरुलाई जुलुसमा बोलाउने को थियो भन्ने खुलिसकेको छ । रास्वपाले मानव ढाल बनाएर बालबालिका प्रयोग गर्नु के अपराध होइन ? अर्को कुरा अहिले बालेनकै पार्टी रास्वपाको सरकार छ । यदि ओली दोषी हुन भने कानुनी कारबाही गर्न कसले रोकेको छ ?
लोकतान्त्रिक राजनीति नीतिहरूको संवाद र छनोट हो। नीति–संवादबाट भाग्नु र जनसम्पर्कबाट टाढा रहनु कुनै पनि हालतमा सही हुन सक्तैन । राज्यको नेतृत्वको दाबी गर्नेहरूले त झन् प्रश्न र संवादबाट भाग्न पाउँदैनन्। त्यसमाथि भाद्र २३ र २४ मा भएको उत्तेजना र कुकर्मको भारी अरूको काँधमा थोपर्ने प्रवृत्ति अझै हानिकारक छ। प्रतिशोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन र हुन पनि सक्दैन।
प्रधानमन्त्री पदका दाबेदाबारबिच सार्वजनिक बहसको आह्वान गर्दै एमाले अध्यक्ष ओलीले आइतबार लेखेका थिए, ‘नयाँ–पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।’
प्रधानमन्त्री नबन्दै बालेनमाथि अनेक प्रश्नहरु उठिसकेका छन् । अघिल्लो सरकार र पुराना दलहरुले राज्यको स्रोत दोहन गरेको, बिलासिता प्रदर्शन गरेको र भ्रष्टाचारलाई बढावा दिएको जस्ता आरोप यिनै बालेनहरुले लगाए । उनीहरुको यही कुरा सुनेर मुलुकमा सुशासनको माग गर्दै जेनजिको नाममा आन्दोलन भयो । कैदीहरु भगाइयो । देश जलाइयो । तर अहिले बालेन आफै ८ करोडको गाडीमा सयर गरिरहेका छन् । भोलि प्रधानमन्त्री भैहाले भने यिनीहरुले मुलुकलाई कस्तो शासन देलान् ? नहुँदै यस्तो तडकभडक गर्नेले सत्ता नै हात पारे भने देशलाई कुन हालतमा पुर्याउलान् ? सचेत नागरिकले मतदान गर्नुपूर्व नै सोच्न्पर्ने होइन र ? बेला बितेपछि पश्चाताप गरेर केही हुनेछैन । प्रश्नहरुबाट भाग्ने त तानाशाह मात्रै हुन्छ । प्रश्न गर्न नपाउने व्यवस्था पनि तानाशाही नै हो । जनताका नेताहरु त प्रश्नहरुबाट घेरिन जहिले पनि खुशी हुन्छन् ।
प्रतिक्रिया