फागुन २१ को चुनावी माहौलले यतिबेला देश तातेको छ । आकाशको जुनतारा झारिदिने आश्वासन दिएर नयाँ–पुराना दल र तिनका उम्मेदवार जनतामा जान थालेका छन् । राजनीतिमा नयाँ र पुरानो भन्ने त हुँदैन तर यहाँ त्यस्तै बनाउन खोजिएको छ । यो पंक्तिकार पनि सिन्धुली क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभाको एउटा उमेद्वार भएकोले यो क्षेत्रका नागरिकका चासो र सरोकारका विषयमा आफ्ना धारणा स्पष्ट पार्न जरुरी देखिएकोले केही विषय यहाँ उठाइएको छ ।
सिन्धुलीको मौलिक पहिचानको संरक्षण र विकास
विकसित मानिएका विश्वका प्रायः सबै देशले मौलिकताको पहिचान गरी त्यसको संरक्षण र विकासबाट नै समृद्धि हासिल गरेको पाइन्छ । एसियाकै दक्षिण कोरियाले प्रविधि र आर्थिक क्षेत्रमा गरेको विकास होस् वा मलेसिया, सिंगापुरजस्ता देशले प्राप्त गरेको सफलता होस्स यी सबै देशले आफ्नो मौलिक संस्कृतिमा आधारित वस्तुको उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्डका रुपमा प्रविधि सँगसँगै विकास गरी समृद्धि र ख्याति हासिल गरेका हुन् ।
विविध जातिहरुको बसोबास रहेको सिन्धुली जिल्ला भौगोलिक रुपमा पनि विविधतायुक्त रहेको छ । जातिगत र भौगोलिक दृष्टिले विविधतायुक्त जिल्ला भएको हुनाले यहाँको मौलिकता, आवश्यकता र सामाजिक अन्तरविरोधमा पनि विविधता पाइन्छ । बहुआयामिक मौलिकताको अन्वेषण, संरक्षण र विकासले मात्र सिन्धुलीको विकासलाई व्यवस्थित बनाउन सकिन्छ ।
सांस्कृतिक, ऐतिहासिक, साहसिक, कृषि र पर्या–पर्यटनलाई व्यवस्थित प्रचार र व्यवस्थापन गरी सिन्धुलीको विकासको बलियो आधार स्तम्भ बनाउन सकिन्छ । जुनार, काठका भाँडाकुँडा, पशुपन्छीजन्य मासु, माछा र कृषिजन्य विभिन्न उपजलगायत सिन्धुलीको मौलिक पहिचान झल्काउने प्रशस्त वस्तु आत्मनिर्भर मात्र नभई देशका अन्य जिल्लामात्र नभई विदेश निर्यात गर्न सक्छ । मात्र आवश्यकता ती क्षेत्र र विषयको पहिचान र विकासको हो ।
त्यस्तै जलविद्युतका उत्पादनलाई पनि सिन्धुलीको विकासको आधार बनाउन सकिन्छ । यसका लागि विषयविज्ञहरुसँग परामर्शसहित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसहितको एउटा सम्मेलन नै आयोजना गरी व्यवस्थित बनाउने मेरो प्रतिबद्धता रहेको छ ।
स्थानीय तहमार्फत शिक्षाप्रणालीलाई समावेशीकरण गर्ने हेतु इतिहास र सभ्यतासँग आधुनिक प्रविधिलाई जोड्दै उत्पादनमूलक, सीपमूलक र व्यावहारिक शिक्षामार्फत् जिल्लालाई आत्मनिर्भर बनाउन मेरो प्रयास हुनेछ । संस्कृति समाजलाई निर्देशित गर्ने महत्त्वपूर्ण पक्ष हो ।
सांस्कृतिक रुपान्तरणसहित पुनर्जागरण अभियान
-प्रत्येक स्थानीय तहमा मौलिक जीवनशैली र परम्पराको अभिलेखीकरण गरी सङ्ग्रहालय स्थापना गर्न
-जातीय महोत्सवहरूलाई वार्षिक कार्यक्रम बनाउने र स्थानीय पर्यटन प्रवर्द्धन गर्न
-साना उत्पादनकर्ताका लागि सहकारी र डिजिटल प्लेटफर्म स्थापना गरी निर्यात प्रवर्द्धन सुनिश्चितता गर्न
-सरकारी कार्यक्रम, गतिविधि, कार्यालयमा स्थानीय भोजन र पहिरन अनिवार्य गर्ने र जातीय कला र सिपमा आधारित उत्पादनलाई अनुदानमा प्राथमिकता दिइनेछ ।
-मौलिक संस्कृति तथा ज्ञानलाई अडियो–भिजुअल (श्रव्यदृश्य) माध्यममा अभिलेख गरी विद्यालयहरूमा ‘मौखिक इतिहास’ को खोज, अनुसन्धान, अभिलेखीकरण गर्ने योजना समावेश गरिनेछ ।
-मौखिक इतिहासमा आधारित नाटक, कविता, जन– इतिहास लेखनलाई प्रोत्साहन गर्दै तिनको वस्तुगत प्रदर्शनीका लागि पनि विशेष पहल बढाइने छ ।
सुशासनका लागि नागरिक प्रशिक्षण
सुशासन सबैले भन्ने गरेका छन् । सुशासन शब्द सुन्दा पनि नागरिकलाई व्यङ्ग्यको अनुभूति हुने अवस्था छ । मेरो चुनावी अभियानदेखि नै यसको ग्यारेन्टी गर्न चाहन्छु । मैले चुनावमा सहयोग स्वरुप कति रकम प्राप्त गरें र कुन शीर्षकमा कति खर्च गरें भन्ने विषयलाई निर्वाचन लगत्तै सार्वजनिक गर्ने छु । आर्थिक अपारदर्शिता नै यतिबेला हाम्रा राजनीतिक दल र तिनका नेताको भ्रस्टाचारजन्य गतिविधिको मूल केन्द्र बनेको सन्दर्भमा मेरो यो प्रयास सिन्धुलीमात्र नभई देशकै लागि एउटा उदाहरण बनोस् भन्ने चाहन्छु ।
अपारदर्शी जीवनशैली, व्यापारीहरुसँगको गलत संगतलाई मेरो चुनाव र त्यसपछिको अवस्थामा पनि पूर्ण रुपमा अस्वीकार गर्दछु । पैसा बाँडेपछि वा भोजभतेरमार्फत् नागरिकको भोट किनिन्छ भन्ने भाष्यलाई म पूर्णतः अस्वीकार गर्दै यसप्रकारको गलत कृत्यलाई प्रथम दृष्टिमै खारेज गर्न पनि म सिन्धुलीका सचेत मतदाता नागरिकलाई अनुरोध गर्दछु । घुस लिनु र दिनु दुवै अपराध कर्म भएको हुनाले यस्तो प्रथाको खारेज नगरी सुशासनको कल्पना गर्न सकिन्न । यसमा म दृढ छु र दृढतापूर्वक यसका पक्षमा लाग्न सिन्धुलीका तमाम मतदाता र सचेत नागरिकलाई विशेष अनुरोध गर्दछु ।
मैले मेरो खाता र त्यसमा भएको रकम सार्वजनिक गरिसकेको छु । मेरो चुनावी खर्च सार्वजनिक गर्छु र त्यसबारे कसैको कुनै प्रश्न भए सोध्न अनुरोध गर्दछु । सिन्धुली मात्र होइन, खाता र खर्च दैनिक सार्वजनिक गर्न देशैभरिका सबै उमेद्वारलाई बाध्य पार्न नागरिकले प्रश्न गरुन् भन्ने म आह्वान गर्न चाहन्छु । यसरी कसैले सार्वजनिक नगरे सूचनाको हकको प्रयोग गरी खातामा प्राप्त रकमको स्रोत र खर्च गरिएको शीषकबारे जानकारी लिन पनि म जोडदार समर्थन, सहयोग गर्न तत्पर छु । नागरिकले निगरानी, नियन्त्रण र हस्तक्षेप गर्न सकेनन् भने सुशासन कसैले दिनेवाला छैन ।
मौलिक सांस्कृतिक सभ्यताको उत्खनन् र संरक्षण
मौलिक शिक्षाका माध्यमबाट मात्र सम्भव छ । आर्थिक रुपमा आत्मनिर्भर बन्न भ्रष्टाचारजन्य व्यवहारको अन्त्यका लागि सुशासन अनिवार्य छ । सांस्कृतिक, आर्थिक विचलन र अपारदर्शिताविरुद्ध आजका मितिसम्म संघर्ष गर्दै आउँदा मैले मेरो जीवनमा कयौं अवसरहरुलाई तिलाञ्जली दिएको छु । विभिन्न अपमान र पीडा व्यहोरेको छु ।
आगामी दिनमा पनि सिन्धुलीको माटोमा रमाउँदै, यहाँको उच्छ्वासपूर्ण विविधतालाई अझ विकसित बनाउँदै मेरो जीवनको अर्को महत्त्वपूर्ण समयलाई नागरिकको समुन्नतिका लागि समर्पण गर्ने अठोट लिएको छु । मीठो भाषणमा भ्रष्ट आचरण मिसाएर चिप्ला कुरा गर्ने मेरो बानी छैन । मेरो प्रतिबद्धतालाई परीक्षित गर्न यहाँहरुले मद्दत र अवसर दिनु भयो भने बाँकी अभिभारा मेरो हुनेछ । (लेखक दाहालले बस्ने मुढा चुनाव चिह्न लिएर सिन्धुली–२ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । )
प्रतिक्रिया