एभरेस्ट स्कुलमा जुनियर सांस्कृतिक कार्यक्रम सम्पन्न, विविधतामा एकताको सन्देश

मंगलबार, १३ माघ २०८२, ११ : ५२

काठमाडौं- शिक्षा कक्षाकोठाभित्र सीमित पाठ्यपुस्तक अध्ययन मात्र नभई संस्कार, संस्कृति र जीवनोपयोगी सीप विकाससँग जोडिएको प्रक्रिया भएको सन्देशसहित भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट इंलिस स्कुलले जुनियर सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले नेपालका विभिन्न जातजाति, भाषा, भेषभूषा र सांस्कृतिक परम्परालाई झल्काउने नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। ती प्रस्तुतीमार्फत विविधताभित्रको एकता, सहअस्तित्व र आपसी सम्मानको सन्देश प्रवाह भएको आयोजकले जनाएको छ।

619667099_122118396651094485_1904546666784130737_n

विद्यालयका अनुसार आजको प्रतिस्पर्धात्मक शैक्षिक परिवेशमा शैक्षिक उपलब्धिसँगै सह–शैक्षिक तथा अतिरिक्त क्रियाकलापको महत्व बढ्दो क्रममा रहेको छ। सोही अवधारणाअनुसार एभरेस्ट इङ्लिस स्कुलले खेलकुद, नृत्य, गायन, योग, उशु लगायत २० वटा विभिन्न क्लब सञ्चालन गर्दै विद्यार्थीको रुचि र क्षमताको पहिचान तथा विकासमा जोड दिँदै आएको छ।

यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गराउने विद्यालयको विश्वास छ। साथै, “पहिले मित्रता, अनि मात्र प्रतिस्पर्धा” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै मौलिक पहिचानप्रति गर्व गर्ने भावना अभिवृद्धि गराउन सहयोग पुग्ने बताइएको छ।

नेपालजस्तो बहुसांस्कृतिक समाजमा बालबालिकालाई सानैदेखि विविधताको सम्मान गर्न सिकाउनु आवश्यक रहेको उल्लेख गर्दै विद्यालयस्तरमै यस्ता कार्यक्रममार्फत सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक चेतनाको विकास हुनु सकारात्मक संकेत भएको सरोकारवालाहरूको भनाइ छ।

विद्यार्थीलाई केन्द्रविन्दुमा राखी आयोजना गरिएका यस्ता सांस्कृतिक कार्यक्रमहरूले विद्यालय शिक्षालाई सशक्त बनाउनुका साथै समाजमा संस्कृतिप्रतिको चेतना अभिवृद्धि गर्दै भावी पुस्तामा मौलिक परम्पराको निरन्तरता सुनिश्चित गर्ने आधार तयार गर्ने विश्वास लिइएको छ। एभरेस्ट इङ्लिस स्कुलका यस्ता कार्यक्रमहरू अन्य विद्यालय तथा समुदायका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ।

 
मंगलबार, १३ माघ २०८२, ११ : ५२

प्रतिक्रिया