काठमाडौं- नेपालको समग्र निर्माण क्षेत्रको विकास र आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यस वर्ष माघ २२ देखि २५ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने भएको छ।
विगत ११ वर्षदेखि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिद्वारा निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनीमा यस वर्ष ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सहभागी हुने र २०० भन्दा धेरै स्टल रहने बताइएको छ।
प्रदर्शनीमा सहभागी व्यवसायी तथा उद्यमीहरूले आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसीरयुपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट, स्टिल लगायत निर्माण सामग्री र सेवाहरू प्रदर्शन गर्ने अवसर पाउनेछन्।
यस प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चलि रहेका नयाँ प्रविधि, सेवा र उत्पादनहरू नेपालमा भित्र्याउने साथै स्वदेशमै उत्पादन भएका सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर प्रदान गर्दै आएको छ।
निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक, डिजाईनर, ईन्जिनियर, आर्किटेक्ट लगायतको सहभागीता रहने छ भने निजी आवास, व्यवसायिक भवन र कम्प्लेक्स निर्माण गर्न इच्छुक व्यक्तिहरू तथा सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेका छन्।
प्रतिक्रिया