काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका अधुरा सपना पूरा गर्न आह्वान गरेका हुन् ।
सहिद दिवसका अवसरमा प्रचण्डद्वारा जारी सन्देशमा नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको इतिहास भएको उल्लेख गर्दै राणा शासनविरुद्ध लखन थापा र बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान स्मरण गरिएको छ। साथै किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायत विभिन्न समुदायका आन्दोलन तथा पछिल्लो जेन–जी आन्दोलनमा जीवन आहुति दिने सहिदहरूको योगदानलाई पनि उच्च सम्मानका साथ स्मरण गरिएको छ।
सन्देशमा सहिदहरूको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु रहेको उल्लेख गरिएको छ। आज मुलुक गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुग्नु सहिदहरूको अमूल्य बलिदानकै परिणाम भएको प्रचण्डद्वारा जारी सन्देशमा जनाइएको छ।
तर सहिदहरूको सपना अझै पूर्ण नभएको उल्लेख गर्दै सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष जारी नै रहेको सन्देशमा भनिएको छ। ती अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवस मनाउनुको सार्थकता रहने उल्लेख गरिएको छ।
सन्देशमार्फत आत्मसमीक्षा गर्दै जनताको पक्षमा दृढतापूर्वक उभिन र संघर्षको बाटोमा अघि बढ्न नयाँ संकल्प गर्न आह्वान गरिएको छ। साथै उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया