काठमाडौं - अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा विदेश भ्रमणमा गम्भीर असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई कानुन पालना गर्न सचेत गराइएको हो ।
गृह मन्त्रालयले अपराधसम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित बनाउन अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८१ कार्यान्वयनमा रहेको जनाएको छ । निर्देशिकाअनुसार मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रिया विपरीत गरिएका गतिविधिहरू चारित्रिक प्रमाणपत्र जारी गर्दा अनिवार्य रूपमा उल्लेख गरिनेछ ।
मन्त्रालयले जारी गरेको सूचनामा कानुन प्रतिकूल कार्यका कारण भविष्यमा वैदेशिक अध्ययन, रोजगार, आप्रवासन तथा अन्य अवसरहरूमा प्रतिकूल प्रभाव पर्न सक्ने स्पष्ट संकेत गरिएको छ ।
प्रतिक्रिया