काठमाडौं- राष्ट्रका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ भक्तपुर-२, मिबाछें स्थित एभरेस्ट स्कुल, भक्तपुरमा शहिद दिवस भव्य र सभ्य रूपमा मनाइएको छ।
कार्यक्रममा नेपालका मुख्य चार सहिदसहित विभिन्न कालखण्डका ज्ञात तथा अज्ञात सम्पूर्ण सहिदहरूप्रति आगाध श्रद्धा अर्पण गर्नुका साथै उनीहरूले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै त्यसैअनुसार अघि बढ्ने संकल्प व्यक्त गरिएको थियो।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू सक्रिय रूपमा सहभागी भएका थिए। कार्यक्रम सामाजिक अध्ययन विभागको पहलमा आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले सहिदहरू राष्ट्र र जनताका लागि हाँसी–हाँसी जीवन अर्पण गरी अमर बनेको उल्लेख गरे। उनले भने, “सहिदहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठी देशको मुहार परिवर्तन गर्ने महान उद्देश्यका लागि बलिदान दिएका हुन्। उनीहरू केवल इतिहासका पात्र मात्र होइनन्, आज पनि हाम्रो चेतनामा जीवित छन्। उनीहरूको बलिदानले हामीलाई स्वतन्त्रता, अधिकार र लोकतान्त्रिक मूल्यहरूको मार्ग देखाएको छ।”
संस्थापक प्रिन्सिपल राजभण्डारीले सहिदहरूको त्याग र बलिदानबारे सानै उमेरदेखि जानकारी गराउँदै राष्ट्रप्रेम, कर्तव्यबोध र जिम्मेवारीबोधको भावना विद्यार्थीहरूमा विकास गर्नु विद्यालय शिक्षाको अभिन्न अङ्ग भएको उल्लेख गरे। उनले थपे, “देशलाई आवश्यक पर्दा जुनसुकै त्याग गर्न सक्ने भावना विकास गर्नु नै साँचो देशभक्ति हो र शाही प्रतिको साँचो सम्मान हो “।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले सहिदहरूको सम्झनामा गहकिला मन्तव्य, देशभक्तिपूर्ण कविता, कथा र लेख–रचना प्रस्तुत गरी सम्मान प्रकट गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतिहरूले कार्यक्रमको गरिमा बढाएको मात्र होइन, सहिदहरूको योगदान र वर्तमान पुस्ताले ग्रहण गर्नुपर्ने सामाजिक जिम्मेवारीबारे चेतना पनि जगाएको थियो।
कार्यक्रमको समापन सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै, उनीहरूले देखाएको मार्गमा हिँड्ने संकल्पका साथ गरिएको थियो। उपस्थित सबैले सहिदहरूको सपना साकार पार्न इमानदार, जिम्मेवार र देशप्रति समर्पित नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया